नेपाल अथाह प्राकृतिक स्रोत साधनहरूले परिपूर्ण देश हो । यहाँका धेरै विषयहरूको अध्ययन गर्ने, अनुसन्धान गर्ने, स्रोतहरूको परिचालन गर्ने विषयहरूमा हिजोका दिनहरूमा कहीँ न कहीँ कानुनमा धेरै कुराहरूको कमजोरी देखियो । अर्कोतर्फ कुनै न कुनै हिसाबले विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दृश्य अदृश्य रूपरेखाहरूका कारणले पनि नेपालको समग्र विकास हुन सकेन ।
नेपाली जनताले जसरी दलहरूबाट तीब्रतर विकासको परिकल्पना गरेका थिए, सोही अनुसार काम नहुनुको पछाडि धेरै विषयहरू जोडिएका छन् । कतिपय विषयहरू स्पष्ट रूपमा जनताको म्यान्डेट पाउन नसक्नु पनि एउटा मानिन्छ तर जसरी सबै पुराना दलहरू मिलेर देशको समृद्धिका लागि स्पष्ट रूपमा खाका निर्माण गर्नुपर्ने थियो सोही अनुसार काम गर्न नसक्नुको पछाडि पनि नेपालका राजनीतिक दलहरूको भूमिका भित्र धेरै युवावहरुको असन्तुष्टि बढ्दै गएको देखिन्छ ।
नेपाली जनताले चाहे अनुसारको परिवर्तन हुन नसकेका विषयहरू नेपालका पुराना राजनीतिक दलहरूलाई सुनाउँदै आएका धेरै वर्षहरू बितिरहँदा राजनीतिलाई वा दलीय राजनीतिमा आफ्नो बाहुल्यता छ भन्दै नेपालका पुराना दलहरूले केही विषयहरू ओझेलमा पार्दै केवल सत्ता प्राप्तिका विषयहरूमा मात्र धेरै ध्यान दिएको विषयले पनि दलहरूका धेरै खाले कमी कमजोरीहरू रहे भन्ने कुराको बहस देशभर चलेकै हो । तर पछिल्लो आम निर्वाचनको मत परिणामको विषयलाई मात्र हेर्ने हो भने पनि यसरी जनलहर नयाँ दलमा उर्लियो कि अव यो लहर थाम्न सक्ने ताकत नयाँ सरकारलाई हुन्छ कि हुँदैन भन्ने विषय अवका दिनहरूमा महत्त्वपूर्ण रूपमा उठ्दैजानसक्ने देखिन्छ ।
पछिल्लो परिवर्तनमा लडाई लडेका र साथ दिँदै आएका युवाहरू छिटोभन्दा छिटो परिवर्तनको खोजी गरिरहेका छन् । किनकि उनीहरूलाई तत्कालै काम देखिनुपर्ने हतारो छ तर सरकारले हिजोदेखि जसरी चलेको छ त्यो शैलीमै काम गर्न खोजी कुनै पनि परिवर्तन हात पर्ने वाला छैन । किनकि पुराना पुराना नीति नियम र कानुनहरू धमाधम परिवर्तन गरेर त्यसको कार्यान्वयन गर्नुपर्ने छ यसका लागि स्थायी सरकारको रूपमा निकै जगडीएर बसेको कर्मचारीतन्त्रले कति हदसम्म साथ र सहयोग सरकारलाई गर्न सक्छ त्यो विषय निकै चुनौतीपूर्ण विषयका रूपमा रहेको देखिन्छ ।
धेरै विषयहरूमा सरकारले निकै कडा शासन सँगै कडा अनुशासनमा बाँधेर काममा खटाउनुपर्ने निकायहरू धेरै छन् जो हिजो देखिनै राज्यको ढुकुटीमा आफन्तहरूलाई विभिन्न कार्यक्रमहरू प्रदान गरेर लाखौँ हैन करोडौँ रकम अनियमितता गरिरहेका छन् र त्यसभित्रै रमाई रहेका छन् । केही सीमित बिचौलियाहरूले मात्र देश चलाएको विषय जसरी बेला बेलामा बाहिर आउने गर्दछ त्यस्ता बिचौलियाहरूलाई तत्कालै बन्द गरेर स्पष्ट कानुनी मान्यताअनुसार काम गर्ने विषयलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आजको आवश्यकता देखिएको छ ।
नेपाली जनताले प्रदान गरेको अथाह मायाभित्र नयाँ आशा र भरोसा समेत लुकेको छ । पक्कै पनि केही न केही नयाँ कामहरू अवश्य हुनेछन् । ऐनहरू बन्नेछन्, विभिन्न आयोगहरू निर्माण हुनेछन् र सोही अनुसार धमाधम कामहरू सुरु हुनेछन् । देशले निकास पाउनेछ । देश समृद्धिको मार्गमा अगाडी बढ्नेछ ।





